परमाणु परीक्षणबारे अध्ययन गरेका अमेरिकी वैज्ञानिक जासुसीको आरोपमा 'चिनियाँ हिरासतमा'

    • Author, केली अङ
  • Published
  • पढ्ने समय: ५ मिनेट

भूकम्पीय डेटा र परमाणुअस्त्र परीक्षणको विषयमा विशेषज्ञता भएका एक अमेरिकी वैज्ञानिकलाई चीनले जासुसीको आरोपमा झन्डै दुई वर्षदेखि हिरासतमा राखेको उनको परिवारले जनाएको छ।

बन्धकहरूको विषयमा पैरवी गर्ने संस्था 'ग्लोबल रीच'का अनुसार ५४ वर्षीय चन योलिनलाई परिवार भेट्न बेइजिङ गएको क्रममा नोभेम्बर २०२४ मा पक्राउ गरिएको थियो। चन रिहा हुने कुनै सङ्केत नदेखेपछि उनको परिवारले उनको विषयमा सार्वजनिक रूपमा बोल्ने निर्णय गरेको हो।

चन चिनियाँ मूलका अमेरिकी वैज्ञानिक हुन्। उनले भूकम्पीय डेटाका आधारमा परमाणुअस्त्र परीक्षण भएको पत्ता लगाउने विषयमा विशेषज्ञता हासिल गरेका छन्।

उनकी पत्नी रङ युफाङ पनि भूकम्पवैज्ञानिक हुन्। उनका अनुसार चनले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर काम गरेका थिए।

चनविरुद्ध लगाइएको आरोप गलत भएको दाबी गर्दै रङले त्यो आफ्ना पतिले गरेको कामको सार्वजनिक र सहकार्यात्मक प्रकृतिसँग मेल नखाने बताएकी छन्।

चीन के भन्छ

चनका प्रकाशित अनुसन्धानहरू उत्तर कोरियाका गतिविधिमा केन्द्रित छन्। चीनको निकट सहयोगी उत्तर कोरियाले परमाणुअस्त्र कार्यक्रम र भूमिगत परीक्षणका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खेप्दै आएको छ।

चनको अनुसन्धानमा बेइजिङको परमाणुअस्त्र कार्यक्रम परेको थियो कि थिएन अनि परेको भए कसरी परेको थियो भन्ने स्पष्ट छैन।

अमेरिकी गुप्तचर निकायहरूको आकलनअनुसार चीनले नयाँ परमाणुअस्त्रहरू विकास गरिरहेको छ र गोप्य रूपमा परीक्षण गर्दै आएको छ। यद्यपि बेइजिङले त्यस्तो दाबीको खण्डन गर्ने गरेको छ।

मङ्गलवार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले आफ्नो "न्यायिक निकायले कानुनअनुसार मुद्दाहरूको व्यवस्थापन गर्ने" जनाएको थियो।

"कथित अनुचित हिरासत भन्ने कुनै कुरा हुँदैन," मन्त्रालयका प्रवक्ता लिन जिआनले भने।

चीनमा जासुसीसम्बन्धी अभियोगमा दोषी ठहर हुँदा आजीवन कारावास वा मृत्युदण्डसम्म हुन सक्छ।

के भन्छिन् चनकी पत्नी

हाल चन मात्रै "गलत रूपमा हिरासतमा राखिएको" भनेर प्रस्तुत गरिएका अमेरिकी नागरिक हुन्।

"मैले ६०० दिनभन्दा लामो समयदेखि आफ्ना पतिको आवाज सुन्न पाएकी छैन। म उहाँको स्वास्थ्य र अवस्थाबारे चिन्तित छु," रङले 'ग्लोबल रीच'मार्फत् जारी गरेको वक्तव्यमा भनिन्।

समाचारसंस्था रोएटर्ससँगको अन्तर्वार्तामा उनले बताएअनुसार चिनियाँ अधिकारीहरूले चनसँग उनको कामका विषयमा १०० पटकभन्दा बढी सोधपुछ गरेका थिए। तर हिरासतमा राखेको १३ महिनासम्म पनि उनलाई वकिलसँग भेट्न नदिएको उनले बताइन्।

चङ योलिनबारे अरू के थाहा छ

चीनमा जन्मिएका चेन सन् २०११ मा अमेरिकी नागरिक बनेका थिए। उनी म्यासचूसिट्स राज्यको बस्टनमा बस्दै आएका थिए।

उनी भूकम्पसम्बन्धी तथ्याङ्कको प्रयोग गरेर परमाणुअस्त्र परीक्षणहरू पहिचान गर्ने विषयका विशेषज्ञ हुन्। उनले अमेरिकी सरकारद्वारा आर्थिक सहयोगप्राप्त विभिन्न परियोजनामा काम गरेका थिए।

चनले चिनियाँ सहकर्मीहरूसँग गरेका सबै काम "पारदर्शी" भएको रङको दाबी छ।

"उहाँले चीन सरकारले आफू चाहेको भनेजसरी नै जनता-जनताबीचको सहकार्य गरिरहनुभएको छ," उनले भनिन्।

चन डिसेम्बर २०२० मा चीनसहित एशियाभरि सङ्कलित भूकम्पीय तथ्याङ्कको विश्लेषण गर्दै पारमाणविक परीक्षणको निगरानी र विस्फोट क्षमताको आकलन गर्ने विधि सुधार गर्ने प्रयास गर्ने एउटा अध्ययनमा पनि संलग्न थिए।

अमेरिकाभित्र कस्तो आशङ्का

अमेरिकी सरकारभित्र चनको गिरफ्तारी चीनले 'विस्तृत पारमाणविक परीक्षण प्रतिबन्ध सन्धि'को उल्लङ्घन गर्दै परमाणुअस्त्र परीक्षण गरेको विषयसँग सम्बन्धित हुन सक्ने आशङ्का रहेको 'ग्लोबल रीच'ले जनाएको छ।

उक्त समूहका अनुसार चनको विशेषज्ञताबाट चीनले "अमेरिकी भूकम्पीय पहिचान पद्धतिबारे सकेसम्म धेरै जानकारी हासिल गर्ने अवसर पाउन र त्यसबाट उक्त सन्धिलाई छल्न सक्ने प्रतिकारात्मक उपायहरू विकास गर्न" सक्छ।

उक्त सन्धिको उद्देश्य पृथ्वीमा सबै खालका पारमाणविक अस्त्र परीक्षणमाथि प्रतिबन्ध लगाउने हो। तर धेरै "पारमाणविक क्षमतासम्पन्न" राष्ट्रहरूले अझै यो सन्धिलाई अनुमोदन गरेका छैनन्।

ती राष्ट्रहरूमध्ये अमेरिका र चीन पनि छन्। तिनले विस्फोटन हुने परमाणुअस्त्र परीक्षण नगर्ने स्वैच्छिक स्थगनको व्यवस्था गरेका छन्।

डोनल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालका बेला जुन २०२० मा अमेरिकी सरकारले पश्चिमोत्तर चीनस्थित लोप नुर केन्द्रमा बेइजिङले गोप्य रूपमा भूमिगत पारमाणविक परीक्षण गरेको आरोप लगाएको थियो।

तर चीनले ती आरोपहरूलाई आधारहीन र राजनीतिक उद्देश्यबाट प्रेरित भन्दै खण्डन गरेको थियो।

चनबारे किन चिन्ता

बन्धकहरूको अधिकारबारे पैरवी गर्ने अर्को अमेरिकी संस्था 'फोली फाउन्डेशन'ले चनको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै उनी मधुमेह, उच्च रक्तचाप र उच्च कलेस्टरोलबाट पीडित रहेको जनाएको छ।

"उनलाई भरपर्दो उपचार र हेरचाह चाहिन्छ, जुन अन्यायपूर्ण रूपमा कारागारमा राखिँदा उपलब्ध हुँदैन," सो समूहले भनेको छ।

म्यासचूसिट्सका डेमोक्र्याट सिनेटर एड्वर्ड मार्कीले बेइजिङको "चनप्रतिको व्यवहारले [अमेरिकासँगको] साझेदारीलाई कमजोर बनाएको" भन्दै यसले "अन्य प्राज्ञहरूलाई चीनस्थित आफ्ना सहकर्मीहरूसँग मिलेर काम गर्न निरुत्साहित पार्न सक्ने" टिप्पणी गरेका छन्।

"मलाई आशा छ कि उनको अन्यायपूर्ण हिरासतप्रति बढ्दो ध्यानले चिनियाँ सरकारलाई सही काम गर्न र चनलाई रिहा गर्न बाध्य बनाउने छ," उनले मङ्गलवार प्रकाशित वक्तव्यमा भनेका छन्।

चीनले म्यान्मारसम्बन्धी अध्ययन गर्ने एउटा 'थिङ्क ट्याङ्क'का निर्देशक तथा अर्का अमेरिकी विद्वान् मिन जिनलाई पक्राउ गरेको पुष्टि गरेको एक महिनापछि चन पनि हिरासतमा रहेको विवरण सार्वजनिक भएको हो।

बेइजिङले मिन जिनमाथि जासुसी गरेको र चीनको राष्ट्रिय सुरक्षालाई जोखिममा पारेको आरोप लगाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।