तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा अवरोध भइरहँदा नेपाली चियाको वैकल्पिक बजार अन्यत्र कहाँ छ?
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
भारतले लगाएको नयाँ नियमका कारण करिब डेढ महिनादेखि त्यहाँ नेपालको चिया निर्यात ठप्पप्राय: भएको अवस्थामा व्यवसायीहरूले पाकिस्तान र बाङ्ग्लादेशलाई विकल्पको रूपमा हेरिएको बताएका छन्।
तर त्यसका लागि सरकारबाटै हुनुपर्ने वातावरण बनाउने काम नभएको उनीहरू बताउँछन्।
"जस्तो, बाङ्ग्लादेशमा चिया पठाउँदा ३० प्रतिशत भन्सार लाग्छ। बाङ्ग्लादेशले त्यसमा छुट दिन पनि सकिने बताएको छ। तर बदलामा उसले नेपालले आयात गर्ने उसका त्यति नै बराबरका कुनै वस्तुमा त्यस्तो छुट दिनुपर्ने भनिरहेको छ। तर त्यसतर्फ केही हुन सकेन," नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुली भन्छन्।
दक्षिण एसियाली छिमेकी पाकिस्तान विश्वमै चियाको प्रमुख आयातकर्तामध्येको देश भए पनि अहिले त्यहाँ नेपाली चिया निर्यात निकै न्यून मात्र छ।
त्यहाँ वार्षिक १७ करोड किलोग्राम चिया खपत हुने भए पनि त्यो धेरैजसो अफ्रिकी देशबाट आउने गरेको पाइन्छ।
बाङ्ग्लादेशमा वार्षिक करिब ९ करोड किलो चिया खपत हुने बताइन्छ जुन देश आफैमा मुख्य चिया उत्पादक समेत हो। यद्यपि उसले केही मात्रामा भारत, चीन र म्यान्मारबाट समेत चिया आयात गर्दै आएको छ।
तेस्रो मुलुकमा बजार विस्तारको माग
निर्यातलाई लिएर जारी गतिरोध लम्बिरहँदा बुधवार संसद्मा नेपाली कांग्रेसका सचेतक निश्कल राईले दिगो समाधानका लागि "देशभित्रै जाँच प्रयोगशाला निर्माण" गर्नेदेखि "तेस्रो मुलुक निर्यातका लागि बजार सुनिश्चित" गर्न माग गरेका थिए।
तर उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री गौरी कुमारीले "प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल भइरहेको" भन्नेबाहेक थप प्रस्ट्याइनन्।
चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको तथ्याङ्क छ। नेपालमा एक लाख श्रमशक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोडिएको व्यवसायीहरू बताउँछन्।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले तेस्रो मुलुक निर्यातका कुरा उठेको विषय आफूहरूले बुझेको बताउँदै त्यसरी एकाएक बजार मोड्दा "तयारी र समय लाग्ने" बताउँछन्।
"अहिलेलाई भारतमै निर्यात सहज बनाउनु हुन्छ," मन्त्रालयका प्रवक्ता सुवेदी भन्छन्।
'अघोषित नाकाबन्दी'
नेपालमा वार्षिक २ करोड ६५ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ। जसमध्ये करिब २ करोड किलो तराईमा र ६५ लाख किलो पहाडी भेगमा उत्पादन हुने गरेको व्यवसायीहरू बताउँछन्।
"अहिलेको अवरोध अघोषित नाकाबन्दी हो," नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुली भन्छन्।
"हाम्रो चिया भूराजनीतिमा पर्यो जस्तो छ। नेपालका कृषिमा आधारित उद्योगलाई भारतकै सरह व्यवहार गरिने भन्दा भन्दै यसमा किन त्यस्तो गरियो?"
उनले यस विषयमा सरकार-सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा त्यसले अलैँची, प्लाईवूडजस्ता क्षेत्रमा पनि मार पार्न थाल्ने बताउँछन्।
"भारतले अहिले जे गरेको छ त्यो उच्च जोखिमको वर्गमा पर्ने वस्तुका हकमा आवश्यक कुरा हो। तर भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा हाम्रो चिया उच्च जोखिमयुक्त कोटीमा पर्दैन," पराजुली भन्छन्।
नेपालको ९५ प्रतिशत अर्थोडक्स चिया भारत निर्यात हुने गर्छ। सीटीसी चियाका हकमा करिब १ करोड किलो अर्थात् आधाजसो नेपालमा खपत हुन्छ भने बाँकी भारत निर्यात हुने गरेको छ।
नेपालमा वार्षिक ६० लाख किलोभन्दा बढी परिमाणमा उत्पादन हुने अर्थोडक्स चिया स्वदेशमा आठदेखि १० प्रतिशत मात्रै खपत हुने गरेको छ।
बाँकी हिस्सामध्ये अधिकांश भारतमा र केही युरोपेली लगायत अन्य देशहरूमा निर्यात हुन्छ।
भारत पठाउने 'जोखिम कसरी उठाउने?'
टी बोर्ड इन्डियाले गत फेब्रुअरी १० तारिखमा चिया आयातसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ।
भारतमा चिया निर्यातका लागि निर्यातकर्ताहरूले 'स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिड्युर' को पालना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
जसमा प्रत्येक खेपको ढुवानीबाट चियाको नमुना लिएर प्रयोगशालाबाट परीक्षणमा पास भएपछि मात्र निर्यात गर्न पाइने व्यवस्था गरिएको छ।
"तर अहिलेको व्यवस्थामा सीमामा हाम्रो चियाको नमुना झिकिँदैन। गोदामबाट मात्र उनीहरूले नमुना लिन्छन्। त्यो प्रक्रिया निकै लामो हुन्छ," पराजुली भन्छन्।
"कोलकाता पुग्नै हाम्रो चियालाई पाँच दिनजति लाग्छ। त्यहाँ अर्को पाँच-दश दिनमा नमुना लिइन्छ। त्यसको रिपोर्ट दिन १५ देखि २० दिन लगाइन्छ।"
हाल पहिलेको तुलनामै जाँचको मापदण्डहरू निकै बढाउँदै २ सयभन्दा बढ्ता पुर्याइएको भन्दै त्यसमा कुनै एउटामा समस्या देखिए ठूलो समस्या पर्न सक्ने भएकाले भारतमा चिया पठाउने अवस्था नरहेको बताउँछन्।
"त्यस्तोमा कसरी जोखिम उठाउने!"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।