तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फेब्रुअरीमा मारिएका सर्वोच्च नेता खामेनेईको सम्झनामा इरानमा सार्वजनिक शोकका कार्यक्रम सुरु
- Author, ट्याबी विल्सन
- Author, मसुद अजर
- Role, बीबीसी न्यूज पर्सिअन
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकी र इजरेली हमलामा मारिएको चार महिनाभन्दा बढी समयपछि इरानले आफ्ना भूतपूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईप्रति कैयौँ दिनको सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रमहरू सुरु गरेको छ।
भूतपूर्व आयतोल्लाहको शव हाल तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहीवार गृहनगर मशहदमा उनको अन्तिम संस्कार हुँदै छ।
इरानी अधिकारीहरूका अनुसार ती समारोहहरूमा १ करोड २० लाख देखि २ करोडको सङ्ख्यामा मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ।
अधिकारीहरूले त्यसलाई "शताब्दीकै अन्तिम संस्कार" भनिरहेका छन्।
इरान र अमेरिकाबीच जुन महिनामा आफूहरूबीचको द्वन्द्व रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको कमजोर युद्धविराममाझ अन्तिम संस्कारका कार्यक्रम सुरु भएका हुन्।
को को सहभागी छन्?
भिडिओ फुटेजहरूमा शुक्रवार ग्रान्ड मोसल्लामा इस्लामिक गणतन्त्रको रङ पोतिएका खामेनेईको शवपेटिका माथि उठाइएको देखाइन्छ।
उक्त विशाल धार्मिक परिसरमा शवपेटिका राखिएपछि श्रद्धाञ्जलि व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि थिए।
त्यसै गरी अमेरिका र इरानबीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, पूर्वरुसी राष्ट्रपति दिमित्री मेदभेदेभ र अफगान तालिबानका विदेशमन्त्री अमिर खान मुत्तकी त्यहाँ उपस्थित थिए।
इराक, आर्मेनिया, टर्की एवं साउदी अरब, कतार र ओमानसहितका कैयौँ खाडी देशका प्रतिनिधिहरू पनि उक्त समारोहमा सहभागी छन्।
छ दिनसम्म चल्ने ती समारोहहरूको एउटा हिस्साको रूपमा शनिवार तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह हुने छ। त्यसको नेतृत्व तेहरानस्थित मोहम्मद रसुलल्लाह कोरले गरिरहेको छ।
ट्रम्पको प्रतिक्रिया
फेब्रुअरीमा भएको अमेरिकी इजरेली आक्रमणमा मारिएका खामेनेईका परिवारका सदस्यहरूको अवशेषसँगै खामेनेईको शव तीन दिनसम्म ग्रान्ड मोसल्लामा राखिने छ।
मोहम्मद रसुलल्लाह कोरका कमाण्डर हसन हसनजादेहका अनुसार खामेनीको शव प्रदर्शनका लागि एक अग्लो मञ्चमा राखिँदै छ।
शनिवार बिहानैबाट ढोकाहरू खुला गरिएको उक्त मस्जिदमा १५ देखि २० मिनेटभित्र आगन्तुकहरूलाई प्रवेश गर्न र बाहिर निस्कन अनुमति दिने गरी व्यवस्थापन योजना बनाइएको जनाइएको छ।
खामेनेई फेब्रुअरीको अन्त्यमा इरानमा इजरेली र अमेरिकी संयुक्त आक्रमणको क्रममा मारिएका थिए जसयता उक्त क्षेत्रभरि युद्ध चर्केको थियो।
शुक्रवार राति अमेरिकामा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्न वार्ता जारी रहँदा उक्त देश "सम्झौता गर्न व्यग्र" रहेको टिप्पणी गरेका छन्।
"हामीले उनीहरूलाई [इरानलाई] अन्तिम संस्कारका लागि एक हप्ताको बिदा दियौँ। किनभने हामी राम्रा छौँ," जुलाई ४ मा अमेरिकी स्वतन्त्रताको २५०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा माउन्ट रस्मोरमा आफ्नो सम्बोधनका क्रममा उनले भने।
समारोह व्यवस्थापन
अधिकारीहरूले तेहरानका सार्वजनिक तथा निजी कार्यालयहरू शनिवारदेखि सोमवारसम्म बन्द गर्न आदेश दिएका छन्।
सो क्रममा सहरको केन्द्रको अधिकांश भागमा निजी सवारीसाधनहरूलाई जान रोकिएको एएफपी समाचार संस्थाले जनाएको छ।
तेहरानमाथिको हवाई क्षेत्र शुक्रवार आंशिक रूपमा बन्द गरिएको थियो भने सोमवार त्यो पूर्ण रूपमा बन्द हुने छ।
मङ्गलवारका कार्यक्रमहरू तेहरानको दक्षिणमा अवस्थित कोममा हुने छन्।
इरानको सबैभन्दा प्रमुख र प्रतीकात्मक धार्मिक स्थलहरूमध्ये एक उक्त सहरको धार्मिकस्थल जमकरनमा एक वरिष्ठ शिया धर्मगुरुले अन्तिम संस्कारसम्बन्धी प्रार्थनाको नेतृत्व गर्ने छन्।
खामेनेईको शव बुधवार इराकको नजफ लगिनेछ। सिया इस्लामका प्रथम इमाम, इमाम अलीको दरबारमा जुलुसपछि इराककै करबलामा पुर्याएर शव इरान फर्काइनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।