युक्रेन युद्ध: रुसले युक्रेनी खाद्यान्नमा लगाएको नाकाबन्दी 'खास युद्ध अपराध'- ईयू विदेशनीति प्रमुख

युक्रेन युद्ध

तस्बिर स्रोत, EPA

Published

युक्रेनमा उत्पादित दशौँ लाख टन खाद्यान्न रोक्ने रुसी कदम "खास युद्ध अपराध" भएको युरोपेली सङ्घ ईयूका विदेशनीति प्रमुख जुजेप बोरेलले बताएका छन्। 

ईयूका विदेशमन्त्रीहरूले यस सङ्कटबारे छलफल गर्न सोमवार भेट्नुअघि बोरेलले रुसलाई युक्रेनी बन्दरगाहहरूको अवरोध खुलाउन आह्वान गरे।

पश्चिमा देशहरूले रुसलाई युक्रेनको ब्ल्याक सी तर्फका बन्दरगाहहरूमा नाकाबन्दी अन्त्य गर्न र खाद्यान्नको विशाल भण्डार विश्व बजारसम्म पुर्‍याउने बाटो खोल्न माग गरिरहेका छन्।

दशौँ लाख टन गहुँ युक्रेनमा अड्किरहँदा बाँकी विश्वका मानिसहरू भोकमरी झेल्ने कुरा "अकल्पनीय रहेको" इयूका विदेशनीति प्रमुख बोरेलको भनाइ थियो।

भोकमरीको चेतावनी

नाकाबन्दीका कारण करोडौँ मानिसहरू भोकमरीको जोखिममा परेको र खाद्यान्नको मूल्य निकै बढिरहेको भन्दै चेतावनीहरू जारी गरिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्ध: १०० दिनमा के भयो?

लक्जम्बर्गमा ईयू विदेश मन्त्रीहरूको बैठकअघि बोरेलले भने, "यो खास युद्ध अपराध हो। त्यसैले मैले यो लामो समयसम्म रहला भन्ने अनुमान गर्न सक्दिनँ।"

युक्रेनबाट आउने निकै महत्त्वपूर्ण खाद्यान्नमा अवरोध पुर्‍याइराखेमा रुसलाई "जिम्मेवार ठहर्‍याइनुपर्ने" बोरेलको भनाइ थियो।

रुसले भने खाद्यान्नको बढ्दो मूल्य र मध्यपूर्व तथा अफ्रिकामा देखा परेको खाद्य सङ्कट ईयूले लगाइरहेको आर्थिक नाकाबन्दीका कारण भएको दाबी गर्ने गरेको छ।

ईयूको धारणा के छ?

रुसी दाबीबारे २७ देशहरू सदस्य रहेको ईयूमा भिन्न मत देखिन्छ।

बोरेलले चाहिँ आफूहरूको प्रतिबन्धले खाद्यान्न र मल खादलाई लक्षित नगरेको भन्दै उक्त सङ्कटका लागि युरोपेली आर्थिक प्रतिबन्धहरू जिम्मेवार नभएकोमा जोड दिए।

उनले भने, "समस्या रुसी नाकाबन्दीबाट आएको छ।"

फ्रान्सेली विदेशमन्त्रीले "विश्वव्यापी भोकमरीसँग खेल्ने काम रुसले बन्द गर्नुपर्ने" बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुनै देशलाई तह लगाउन प्रतिबन्धहरू कति प्रभावकारी