नाइजिरियाः अवैध तेल प्रशोधन केन्द्रमा विस्फोटन, १०० बढीको मृत्यु

Published

दक्षिणी नाइजिरियाको इमो राज्यमा अवैध रूपमा सञ्चालित एउटा तेल प्रशोधन केन्द्रमा विस्फोटन हुँदा १०० बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

घटनापछि नाइजिरिया प्रहरीले अवैध तेल प्रशोधन कारखानाका सञ्चालकको खोजी भइरहेको जनाएको छ।

विस्फोटन हुनुअघि उक्त केन्द्रमा ठूलो आगलागी भएको थियो। त्यस बेला कारखनामा दर्जनौँ मानिसहरूले काम गरिरहेको ठानिएको छ।

धेरै जना चिन्नै नसकिनेगरी जलेका थिए।

उच्च गरिबी र बेरोजगारीका कारण दक्षिणी नाइजिरियामा अवैध खनिज तेलको प्रशोधन आयआर्यनका लागि लोभलाग्दो काम बनेको छ।

मृतकको सङ्ख्या बढ्न सक्ने

मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

नाइजिरियाको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले मारिनेको सङ्ख्या १०९ पुगेको बीबीसीलाई बताएको छ।

"अवैध सञ्चालक र तिनका संरक्षकहरू सुरक्षित हुन हतारिँदै भाग्दा नजिकैका झाडी र जङ्लमा धेरै शव छरिएको हामीले थाहा पाएका छौँ," राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका इफीयानी न्नाजीले भने।

चोरी भएको कच्चा तेल प्रशोधन गर्ने कारखानाको विस्तार रोक्न अधिकारीहरूले ठूलो सङ्घर्ष गर्नुपरेको छ।

शनिवार राति उक्त घटना हुनुको कारण थाहा स्पष्ट हुन बाँकी छ।

यद्यपि सुरक्षित उपाय अवलम्बन नगरिने त्यस्ता स्थानमा पहिला पनि दुर्घटनाहरू हुने गरेका थिए।

तेल प्रशोधन केन्द्रमा सावधानी तथा त्यस्ता कारखानाले गर्ने पर्यावरणीय प्रदूषणबारे चिन्ता व्यक्त गर्ने गरिएको छ।

तथापि नाइजिरियाका वैधानिक तेल प्रशोधन केन्द्रहरूले आफ्नो क्षमताअनुसार काम गर्न सकेका छैनन्।

त्यसैले देशमा बारम्बार इन्धन अभाव र मूल्यवृद्धि हुने गरेको छ।