अफगानिस्तान: काबुल विमानस्थलको कोलाहलमा हराएका बालकको परिवारसँग पुनर्मिलन

Published

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आफ्ना आमाबुवाबाट छुट्टिएर हराएका एक शिशुको अन्ततः परिवारसँग पुनर्मिलन भएको छ।

तालिबानले गत अगस्टमा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट धेरै मानिसले भागेर अन्यत्र जाने प्रयास गरेका थिए।

हजारौँ मानिसहरू काबुल विमानस्थलमा छिर्न लागेको बेला भिडमा किचिन नदिन दुईमहिने बालक सोहेल अहमदीलाई एक अमेरिकी सैनिकलाई समात्न दिइएको थियो।

तर विमानस्थलभित्र प्रवेश गरिसकेपछि सोहेलको परिवारले उनलाई फेला पार्न सकेन।

सोहेलको खोजी तीव्र गरिए सबै प्रयास व्यर्थ भयो।

उनका पिता मिर्जा अलि अहमदी अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको काम गर्थे। सोहेल फेला नपरेपछि मिर्जा अलि र उनकी पत्नी अरू चार सन्तानसहित अमेरिका जाने विमान चढे।

महिनौँसम्म सोहेल कहाँ छन् भन्ने उनीहरूलाई अत्तोपत्तो थिएन।

तर सोहेलको खोजी परिवारले गरिरहेको वियषमा गत नोभेम्बरमा रोएटर्समा समाचार आएपछि २९ वर्षीय ट्याक्सीचालक हमिद सफीको घरमा उनी छन् भन्ने पत्ता लाग्यो।

रोएटर्सका अनुसार सफीले सोहेललाई विमानस्थलको भुइँमा एक्लै रोइरहेको अवस्थामा फेला पारेका थिए।

सोहेलका आमाबुवालाई खोज्ने प्रयासपछि सफीले उनलाई आफ्नै घरमा लगेर आफ्नो सन्तानसरह हुर्काउने निर्णय गरेका थिए। उनी विवाहित हुन् र उनका छोराछोरी छन्।

सफी परिवारले सोहेलको नाम मोहम्मद अबेद राख्यो। सफीको फेसबुक पेजमा उनीहरूले सोहेलसहित परिवारको तस्बिर राखे।

सोहेल कहाँ छन् भन्ने पुष्टि भएपछि उनका हजुरबुवा मोहम्मद कसिम रजावीले उत्तरपूर्वी बदाख्सान प्रान्तदेखिको लामो यात्रा गरेर काबुल आई आफ्नो नाति फिर्ता गर्न आग्रह गरे।

तर सफीले फिर्ता गर्न अस्वीकार गरेका थिए।

रोएटर्स समाचारसंस्थाका अनुसार सफीले त्यसका लागि उनका परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरेका थिए।

सात हप्ताको वार्तापछि र सफीलाई केही समय थुनामा राखेपछि तालिबान प्रहरीले दुई परिवारबीच कुरा मिलाएको थियो।

त्यसैअनुसार शनिवार ती बालक उनको हजुरबुवालाई फिर्ता गरिएको रोएटर्सले जनाएको छ।

सोहेलको परिवारले भिडिओमार्फत् पुनर्मिलन भएको दृश्य हेर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएको छ।

"गीत गाउने, नाच्ने गरेर उत्सव मनाइयो," रजावीले भने, "साँच्ची नै विवाहमा जस्तै रमाइलो भयो।"

सोहेललाई अमेरिका पुर्‍याउने व्यवस्था छिट्टै गरिने आशा परिवारले व्यक्त गरेको छ।

उनीहरू अहिले अमेरिकाको मिशिगन राज्यमा बसोबास गर्छन्।

यो पनि पढ्नुहोस्

यो पनि हेर्नुहोस्