फोटो फिचर: वन्यजन्तु फोटोग्राफरले आफ्नो खाना खाने समयमा कैद गरेका केही रोचक तस्बिरहरू

Published

वन्यजन्तुको तस्बिर कैद गर्नमा सौखिन एक फोटोग्राफरले आफूले खाना खान पाउने समय बचाएर थुप्रै रोचक तस्बिरहरू खिचेका छन्। ती तस्बिरहरूका कारण हजारौँ मानिस उनको प्रशंसक बनेका छन्।

डेभ न्यूम्यान नियमित रूपमा स्लीफोर्ड, लिन्कनशायरको केन्द्रमा रहेको आफ्नो कार्यालयबाट स्थानीय नदीमा जनावर र चराहरूको तस्बिर कैद गर्न पुग्छन्।

खाना खाने समयको पट्यारपन हटाउने विकल्पको रूपमा उनले फोटोग्राफी सुरु गरेका थिए। त्यो विकल्प क्रमश: यस्तो सोखमा बदयो जसले उनलाई विश्वव्यापी प्रशंसकहरू माझ चिनाएको छ।

धेरैको ध्यानाकर्षणमा परेका कारण आफू 'अभिभूत' भएको उनले बताए र अन्य उदियमान फोटोग्राफरहरूलाई 'बाहिर निस्किएर फोटो खिच्न' आग्रह गरे।

उनको फोटोग्राफीतर्फ मोह तब जाग्यो जब उनको खाना खाने समय पट्यार लाग्दो तरिकाले बित्थ्यो। त्यस समय उनी सहर वरपर डुल्नु बाहेक थप केही गर्न चाहन्थे।

"त्यसैले म दुई मिनेटमा आफ्नो कारमा पुगेँ र खोलातर्फ लागेँ," उनले सुनाए।

आफूले खिचेको प्रियमध्ये एउटा तस्बिर १८ हजार बासिन्दा भएका कोगल्सफोर्ड मिल्स भन्ने स्थानको स्ली नदीको हो।

"एक दिन म आराम केन्द्रको बाहिर थिएँ जब मैले एउटा मन्डारिन हाँसको तस्बिर कैद गरेँ। त्यहाँ धेरै मानिसहरू झुम्मिएका थिए," उनले भने।

न्यूम्यानले भने: "आफ्ना समस्याहरूबाट टाढा रहेर वातावरण र स्वच्छ हावामा भिज्दै आफैँ हुन रुचाउँछु।"

"कसैलाई पनि आज र भोलिको बीचमा के देखिन्छ थाहा हुँदैन," उनी थप भन्छन्,"यदि तपाईँ प्रकृतिमा के हुन्छ भविष्यवाणी गर्न सक्नु हुन्थ्यो भने त्यो साह्रै पट्यार लाग्दो काम हुन्थ्यो।"

यद्यपि, उनी कहिलेकाहीँ चाहन्छन् - चीजहरू स्थिर रहुन्। तर त्यसो हुँदैन।

तीन वर्षअघि मात्र फोटोग्राफी थालेका न्यूम्यान उदियमान फोटोग्राफरहरूलाई उत्प्रेरित गर्छन्। कहिल्यै क्यामेरा नचलाएकाहरूलाई पनि आग्रह गर्छन् - क्यामेरा बोक्नुस् र फोटो खिच्न थाल्नुस्।

"बगैँचामा हुने चराहरूको फोटो खिचेर फोटोग्राफी सुरु गर्नु उत्तम हुन्छ। अथवा खोलाको किनार जहाँ हाँसहरू मानिसको वरपर खेल्छन्," उनले सुझाए।

न्यूम्यानले आफ्नो लेन्समा कैद गर्न केही लक्ष्यहरू बाँकी राखेका छन् र उनी अर्को वर्ष स्कटल्यान्ड जाने सोचमा छन्। जहाँ उनी जङ्गली जरायो वा सुनौलो चिलको तस्बिर खिच्न चाहन्छन्।

त्यस्तै उनी अफ्रिका पनि पुग्न चाहन्छन् जहाँ उनी चितुवालगायत अन्य जनावरको तस्बिर खिच्न सक्छन्।

"यदि मलाई विद्यालयमा छँदा फोटोग्राफीको बारेमा थाहा हुन्थ्यो भने म यो काममा हुने थिइनँ। यो मेरो सौख मात्र हो।"

एन्डी न्यूम्यान।