मौरीले टोक्दा 'लोप हुने उच्च जोखिममा परेका' दर्जनौँ अफ्रिकी पेन्ग्विनको मृत्यु

संरक्षणकर्ताहरूका अनुसार अफ्रिकी पेन्ग्विन लोप हुने उच्च जोखिममा छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, संरक्षणकर्ताहरूका अनुसार अफ्रिकी पेन्ग्विन लोप हुने उच्च जोखिममा छ
Published

एउटा दुर्लभ घटनामा मौरीले चिल्दा दक्षिण अफ्रिकाको केप टाउननजिकै दर्जनौँ सङ्कटापन्न अफ्रिकी पेन्ग्विन मरेको पक्षी संरक्षणकर्मीहरूले बताएका छन्।

साइमनस्टाउनमा बस्ने झुन्डका ती ६३ वटा पक्षीहरू समुद्री किनारमा मृतावस्थामा फेला परेका थिए।

तिनको शरीरमा धेरै मौरीले टोकेको देखिएको थियो। तर अरू चोटपटक थिएन।

प्रसिद्ध बाउल्डर्ज बीचमा उक्त प्रकारको घटना भएको पहिलो पटक थाहा पाइएको राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्।

“प्रायः पेन्ग्विन र मौरीको सह-अस्तित्व हुन्छ,” दक्षिण अफ्रिकाको वन्य निकुञ्ज हेर्ने निकाय स्यानपार्क्समा कार्यरत जीववैज्ञानिक डा. एलिसन ककले भनिन्।

“नबिच्किएसम्म मौरीले टोक्दैनन् – त्यो क्षेत्रमा भएको घारमा बाधा पुगेको र त्यसपछि ठूलो सङ्ख्यामा मौरीहरू घार छोडेर भागेको र आक्रामक बनेको हुनसक्ने अनुमानमा हामी काम गरिरहेका छौँ,” उनले भनिन्। “दुर्भाग्यवश आफू उडेको मार्गमा ती मौरीको पेन्ग्विनको समूहसँग जम्काभेट भयो।”

शवपरीक्षण गर्दा मौरीले ती पक्षीलाई आँखावरिपरि टोकेको पुष्टि भयो।

तिनको शव भेटिएको ठाउँमा मरेका मौरीहरू पनि फेला परेका थिए।

“यो एकदमै दुर्लभ घटना हो। यस्तो बारम्बार हुँदैन, यो एउटा संयोग थियो,” सदर्न अफ्रिकन फाउन्डेशन फर द कन्जर्भेशन अफ कोस्टल बर्ड्ससँग आबद्ध पशुचिकित्सक डेभिड रोबर्ट्सले समाचारसंस्था एएफपीलाई भने।

कहाँ बस्छन् अफ्रिकी पेन्ग्विन?

अफ्रिकी पेन्ग्विनहरू साना आकारका हुन्छन्। ती संरक्षित पक्षी हुन्।

ती दक्षिण अफ्रिका र नामिबियाका तटीय क्षेत्र र टापुहरूमा बस्छन्।

केही पेन्ग्विन उत्तरमा अवस्थित ग्याबनमा पनि देखिएका छन्।

तर तिनको सङ्ख्या तीव्र गतिमा घटिरहेको आईयूसीएनले जनाएको छ।

अफ्रिकी पेन्ग्विन जोखिममा पर्नुको कारणमा व्यावसायिक रूपमा माछा मार्ने काम तथा “पर्यावरणीय अस्थिरता” पनि पर्छन्।

गत साता आइतवार पनि फिश हकमा धेरै मौरीले चिलेको एउटा मृत पेन्ग्विन फेला परेको स्यानपार्क्सले जनाएको छ।

उक्त निकायका अनुसार मृत पक्षीहरूमा विषाक्तता र रोग परीक्षण गरिएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मान्छे आउन छोडेपछि यसरी रमाए पेन्ग्विन