अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

Published

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेका बेला तीन दिनमा २७ बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ।

दुई पक्षबीच लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्।

विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ।

गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ।

अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ।

त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्।

सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ।

कान्दहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको विवरण आएको छ।

विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ।

"लामो समयदेखि अफगानिस्तान बालबालिकाका लागि विश्वकै सबैभन्दा खराब स्थल रहँदै आएको थियो तर पछिल्ला साताहरूमा र अझ विगत ७२ घण्टामा त त्यो खराब स्थल झन् खराब बनेको छ," युनिसेफ अफगानिस्तानका समान्थ मोर्तले बीबीसीसँग भने।

बालबालिकाहरू सडकमा राखिएका बम र दोहोरो झडपमा परेर मारिएको बताइएको छ।

छोरा गुमाएकी एक महिलाले युनिसेफलाई भनेअनुसार गत सप्ताहान्तमा उनीहरू सुतिरहेका बेला घरमा गोलाबारी हुँदा उनका दशवर्षे छोराको जलेर निधन भयो।

आफ्नो घर छाड्न बाध्य भएका कैयौँ बालबालिकाहरू खुला आकाशमा सुत्न बाध्य भएको पनि युनिसेफले जनाएको छ।

उसले सबै पक्षलाई बालबालिकाहरूलाई हानि नपुर्‍याउन र उनीहरूको सुरक्षा गर्न आह्वान गरेको छ।

यसैबीच तालिबानले केही दिनभित्रै छवटा प्रान्तीय राजधानीहरू नियन्त्रणमा लिएको बताएपछि उत्तरी अफगानिस्तानका हजारौँ हताश मानिसहरू घर छाडेर राजधानी काबुलतर्फ गइरहेका छन्।

कैयौँ तालिबानी जाँच चौकीहरू पार गरेर राजधानी पुगेका मानिसहरूले तालिबानले लुटपाट मच्चाएको, मानिसहरूलाई कुटपिट गरेको र महिला र बालबालिकालाई बन्धक बनाएको समेत बताएका छन्।