कोभिड खोपः उत्तर कोरियाले अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको आरोप

Published

उत्तर कोरियाले अमेरिकी औषधि उत्पादक फाइजरबाट कोभिड-१९ विरुद्धको खोप विकास गर्ने प्रविधि चोरी गर्न खोजेको आरोप दक्षिण कोरियाका अधिकारीहरूले लगाएका छन्।

तर फाइजरको डेटा चोरी भए नभएको विषय भने हालसम्म स्पष्ट हुन सकेको छैन।

दक्षिण कोरियाको न्याश्नल इन्टेलिजेन्स एजेन्सीले गोप्य रूपमा सांसदहरूलाई आक्रमण गरिएको भन्ने विषयबारे जानकारी गराएको समाचारसंस्था योन्ह्यापले जनाएको छ।

बीबीसीले फाइजरसँग मागेको प्रतिक्रियाको उत्तर प्राप्त भएको छैन।

उत्तर कोरियाले हालसम्म कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छैन।

तर उसले अक्सफर्ड-आस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा आगामी केही हप्ताहरूमा प्राप्त गर्दैछ।

गत वर्ष चीनमा कोरोनाभाइरस देखिन थालेपछि ज्यानुअरी महिनादेखि उत्तर कोरियाले आफ्नो सीमानाका बन्द गरेको थियो।

गत नोभेम्बरमा फाइजरसहित कम्तीमा नौवटा स्वास्थ्यसंस्थालाई राज्य समर्थित रुसी र उत्तर कोरियाली संस्थाहरूले निसाना बनाएको प्रविधि कम्पनी माइक्रोसफ्टले जनाएको थियो।

जिङ्क र सेरीएम नाम गरेका उत्तर कोरियाली कम्पनी र फ्यान्सी बीअर नाम गरेको रुसी कम्पनी त्यसका लागि जिम्मेवार रहेको बताइएको छ।

क्रेम्लिनले अन्य देशको खोपसम्बन्धी अनुसन्धान प्रति निसाना साधेको विषयको खण्डन गरेको छ।

धेरैजसो प्रयास विफल भएको भए पनि केही भने सफल भएको माइक्रोसफ्टले चेतावनी दिएको थियो।