कोरोना भाइरस खोप: एस्ट्राजेनेका '६५ वर्ष भन्दा कम उमेर समूहमा मात्र दिन' जर्मन समितिको सिफारिस

खोप

तस्बिर स्रोत, EPA

Published

जर्मनीको खोप समितिले एस्ट्राजेनेकाको कोभिड खोप ६५ वर्ष भन्दा कम उमेर समूहका मानिसहरूलाई मात्र दिइनुपर्ने जनाएको छ।

ब्रिटिश जनस्वास्थ्य अधिकारीहरूले उक्त खोप सुरक्षित रहेको र 'उच्च तहको सुरक्षा दिने' बताएका छन्।

उक्त समितिले जेष्ठ मानिसहरूमा हुने प्रभावकारिताका विषयमा अक्सफर्ड/एस्ट्राजेनेका खोपको 'अपर्याप्त तथ्याङ्क' रहेको भन्दै त्यस्तो बताएको हो।

युरोपेली औषधि नियामकले शुक्रवार युरोपेली सङ्घमा उक्त खोपलाई प्रयोगको स्वीकृति दिने/नदिने टुङ्गो लगाउँदैछ।

यूकेले केही सातायता आफ्ना धेरैजना नागरिकका लागि यो खोप प्रयोग गरिरहेको छ।

विवादबीच जर्मन सुझाव

उक्त क्षेत्रीय समूहभित्र खोप आपूर्तिमा भइरहेको ढिलाइलाई लिएर शीर्ष उत्पादकहरूसँग विवाद भइरहँदा जर्मनीको त्यस्तो घोषणा आएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन कुनै देशले सन् २०२१ मा कोभिड खोप पाउँदैनन्

यूकेमा रहेको एस्ट्राजेनेका कम्पनीले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले वाचा गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने बताएसँगै ईयू नेताहरू क्रुद्ध भएका थिए।

उक्त कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई त्यसको कारण बताएको छ।

ईयूले एस्ट्राजेनेका कम्पनीलाई यूकेमा रहेको उत्पादन केन्द्रबाटै भएपनि आफूहरूलाई कोभिड-१९ खोपको वाचा गरेको मात्रा उपलब्ध गराउन माग गरेको छ।

ईयूले सदस्य राष्ट्रहरूलाई आफ्नो खोप सुनिश्चित गर्नका लागि 'सबैखाले कानुनी उपचारको प्रयोग गर्न' समेत आग्रह गरेको छ।

२७ सदस्य राष्ट्र रहेको ईयूसँग अझ ठूलो खोपको सम्झौता गरेको फाइजर/बायोएनटेकले समेत ढिलासुस्ती गरिरहेको छ।

सिफारिस र बचाउ

एउटा स्वतन्त्र खोप समितिले जर्मन सरकारलाई एउटा सिफारिस गर्दै 'जुनसुकै खेपमा त्यो १८-६४ उमेर समूहका मानिसहरूलाई मात्र दिइनुपर्ने' भनेको हो।

तर पब्लिक हेल्थ इङ्ल्याण्डका खोप कार्यक्रम प्रमुख डा. मेरी राम्सेले एस्ट्राजेनिका र फाइजर-बायोएनटेक खोपहरू सुरक्षित रहेको बताएकी छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?

उनले भनिन्, "जेष्ठ नागरिकहरूको सो उमेर समूहमा मिहिन ढङ्गले हेर्नुपर्ने घटना निकै कम थिए। तर त्यसले प्रतिरोध जनाउने तथ्याङ्क भने निकै भरपर्दा थिए।"

ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनले जर्मन समितिको सिफारिसबाट आफू चिन्तित नभएको बताएका छन्।

यसैबीच बीबीसीसँग कुरा गर्दै युनिभर्सिटी अफ इस्ट एङ्लियामा औषधी विषयका प्राध्यापक पल हन्टरले भनेका छन्, "गम्भीर रोगबाट बचाउन यस खोपले ६५ वर्ष भन्दा माथिल्लो उमेर समूहमा लगभग उल्लेख्य फाइदा दिने र अस्पताल जानुपर्ने अवस्था कम गर्नेछ।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर