कोरोना भाइरस नेपाल: चार महिनापछि ५०० भन्दा कम दैनिक सङ्क्रमण

Published

आइतवार ४८१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

दैनिक सङ्क्रमण सङ्ख्या ५०० भन्दा कम भएको चार महिनाभन्दा धेरै समयपछि यो पहिलोपटक हो।

साउन ३१ गते ४६८ जनामा सङ्क्रमण पुष्टि भएयता लगातार ५०० भन्दा बढी दैनिक सङ्क्रमित भएका थिए।

आइतवार थप ६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएपछि कुल मृतक सङ्ख्या १,८२५ पुगेको छ।

सङ्क्रमितहरूको कुल सङ्ख्या दुई लाख ५८ हजारभन्दा बढी र निको हुनेको सङ्ख्या दुई लाख ५० हजार नजिक छ।

आइतवार थप ७३१ जना निको भएको मन्त्रालयको तथ्याङ्क छ।

विगत २४ घण्टामा ३,८२८ जनाको पीसीआर परीक्षण गरिएको थियो। सङ्क्रमण पुष्टि सङ्ख्या परीक्षणको १२.५ प्रतिशत हो।

आइतवार ६,४९३ मा सक्रिय सङ्क्रमण रहेको छ भने ३६९ जना क्वारन्टीनमा रहेका छन्।