अमेरिकाले गर्भवती महिलालाई भिसामा कडाइ गर्ने

विमान

तस्बिर स्रोत, Getty Images

Published

अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ।

शुक्रवारदेखि लागु हुने नीतिले 'जन्म पर्यटन'लाई रोक्ने बताइएको छ।

नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्नेछ।

अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यको हिसाबले आवश्यक रहेको बताएका छन्।

अमेरिकामा जन्मिने लगभग प्रत्येक बच्चाले त्यहाँको नागरिकता पाउने नियम छ जसलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गर्ने गरेका छन्।

ट्रम्पले अमेरिकामा आप्रवास कम गर्ने नीति लिएका छन् र 'त्यहाँ जन्मिने सबै व्यक्ति अमेरिकी नागरिक हुने' संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका छन्।

नयाँ नियममा के छ?

नयाँ नियम बी भिसा अर्थात भ्रमण भिसामा लागु हुनेछ।

यस नियमपछि भिसा अधिकारीहरूलाई कुनैपनि व्यक्तिको अमेरिका भ्रमणको उद्देश्य त्यहाँ बच्चा जन्माउने मात्रै देखिएका खण्डमा भिसा नदिन सक्नेछन्।

"जन्म पर्यटन अपराधिक गतिविधिसँगै बढिरहेको छ," नीतिमा लेखिएको छ।

गर्भवती महिलाहरू

तस्बिर स्रोत, Thinkstock

नीतिले स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूलाई पनि भिसा प्राप्त गर्न गार्‍हो हुनेछ।

स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूले अब त्यहाँको उपचार खर्च बेहोर्न सक्ने हैसियत देखाउनुको साथै अमेरिकी चिकित्सकको व्यवस्था गरेको देखाउनु पर्नेछ।

राष्ट्रपति कार्यलयले नयाँ नियमको प्रशंसा गरेको छ।

राष्ट्रपतिका प्रेस सेक्रेटरी स्टेफाइन ग्रीसमले एक विज्ञप्तिमा जन्म पर्यटनले अस्पताल महत्त्वपूर्ण स्रोतमाथि दबाबमा पारेको र अपराधिक गतिविधिसँग गाँसिएको बताएकी छन्।

कति बच्चा जन्मिन्छन्?

अमेरिकामा भ्रमण गरिरहेकाले कति बच्चा जन्माउँछन् भन्ने यकिन तथ्याङ्क छैन तर केही समूहले अनुमानित सङ्ख्या सार्वजनिक गरेका छन्।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार सन् २०१७ मा करिब १०,००० बच्चाहरू भ्रमण भिसामा रहेका मानिसबाट जन्मिएका थिए।

सन् २००७ मा त्यो सङ्ख्या ७,८०० थियो।

आप्रवासमा कडा नियमका लागि वकालत गर्ने सेन्टर फर इमीग्रेशन स्टडीजले सन् २०१६ को पछिल्लो छ महिना र सन् २०१७ को पहिलो छ महिनाबीचको एक वर्षमा ३३,००० बच्चाहरू जन्मेको बताउँछ।

पुरानो नियममा गर्भवती महिलाहरू जुनसुकै बेलापनि अमेरिका प्रवेश गर्न पाउँथे।