१३ ‍औँ दक्षिण एशियाली खेलकुद: गौरिकाले दिलाइन् पौडीमा तेस्रो स्वर्ण

Published

१३औँ दक्षिण एशियाली खेलकुदमा गौरिका सिंहले लगातार तीनवटा स्वर्ण पदक जित्दै दक्षिण एशियाली खेलकुदमा इतिहास रचेकी छन्।

उनले आइतवार चार सय मिटर फ्री स्टाइल पौडीमा स्वर्ण जितेकी हुन्।

सिंहले पौडीको चार सय मिटर फ्री स्टाइल चार मिनेट २५ दशमलव २८ सेकेन्डमा पूरा गरी उक्त कीर्तिमान बनाएकी हुन्।

उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै यस्तो कीर्तिमान बनाइन्।

शर्माले चार मिनेट २६ दशमलव २२ सेकेन्ड समय लगाएकी थिइन्।

१३औँ दक्षिण एशियाली खेलकुदमा गौरिका सिंहले दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रवार स्वर्ण पदक जितेकी थिइन्।

उनले त्यसबेला बीबीसीसँग प्रतिक्रिया दिँदै आफ्नो आगामी लक्ष्य समूहगत प्रतिस्पर्धामा पदक जित्ने रहेको बताएकी थिइन्।

त्यसअघि बिहीवार सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी थिइन्।

त्यस्तै आज भएको जुडो प्रतियोगितमा देवकी खड्काले स्वर्ण पदक जितेकी छन्।

यो सँगै नेपालको कुल स्वर्ण पदक संख्या ४५ पुगेको छ।