दार्चुला: भीरबाट जीप खसेपछि ११ को मृत्यु

Published

शुक्रवार राति दार्चुलामा भएको जीप दुर्घटनामा परि ११ जनाको ज्यान गएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुँवरले जानकारी दिएका छन्।

सदरमुकाम खलँगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको उक्त जीप राताकाठा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

भिरालो ठाउँमा जीप तल महाकाली नदी किनारमा खसेको कुँवरले बताए।

"त्यहाँ राताकाठा भन्ने एउटा भीर छ। त्यहाँ निर्माण कार्य पनि चलिरहेको थियो। अलि साँघुरो पनि थियो। त्यहीँ दुर्घटना भयो," उनले भने।

एक जना घाइते गम्भीर अवस्थामा भएको उनले बताए।

यसै साता बुधवार पूर्वी जिल्ला ताप्लेजुङमा एउटा हेलिकप्टर दुर्घटनामा सात जनाको ज्यान गएको थियो।