नायिकालाई रकम दिइएकोबारे थाहा छैन: ट्रम्प

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना वकिलले स्टोर्मी ड्यानीयल्स् भनेर चिनिने वयस्क चलचित्रकी नायिकालाई आफूसँगको सम्बन्धबारे चुप लगाउन सन् २००६ मा १ लाख ३० हजार डलर तिरिएको भन्ने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति चढ्ने जेट विमान 'एअर फोर्स वान' मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना वकिल माइकल कोहेनले त्यो पैसा कहाँबाट ल्याए भन्ने जानकारी आफूलाई नभएको बताए।

कोहेनले चाहिँ सन् २०१६को राष्ट्रपतीय चुनावअघि त्यो रकम आफ्नै बगलीबाट निकालेको बताउने गरेका छन्।

मु्द्दा

गत महिना ड्यानियल्सले गोपनियताबारेको सहमति तोड्ने प्रयासस्वरूप वकिल कोहेनविरुद्ध मुद्दा हालेकी थिइन्।

ह्वाइट् हाउसले ट्रम्प र ती वयस्क नायिकाबीच यौन सम्बन्ध भएको अस्वीकार गरेको छ।

स्टोर्मी ड्यानियल्सको वास्तविक नाम स्टेफेनी क्लिफोर्ड हो।