‌उद्घाटनमा उत्तरबाट 'किम जङ-अनकी बहिनी सहभागी हुने'

किम जङ-अन

तस्बिर स्रोत, KCNA

Published

सोलस्थित मन्त्रीहरूका अनुसार दक्षिण कोरियामा आउँदो शुक्रवारबाट आरम्भ हुने शीतकालीन ‌ओलिम्पिक्स खेलको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनी सहभागी हुने छिन्।

वर्कर्स् पार्टीकी वरिष्ठ अधिकारी समेत रहेकी किम यो-जङ वर्तमान किम परिवारबाट सीमापारि जाने पहिलो सदस्य हुनेछिन्।

दुवै कोरियाले उद्घाटन समारोहमा संयुक्त झण्डामुनि सँगसँगै मार्च गर्नेछन्।

शीतकालीन ‌ओलिम्पिक्स खेलमा उत्तर कोरियाको सहभागितालाई दुई देशको सम्बन्ध सुधार तर्फको कदमका रूपमा हेरिएको छ।

तर संयुक्त राज्य अमेरिका र जापानसहित अन्य देशहरूले उत्तर कोरियाले 'शीतकालीन ‌ओलिम्पिक्स'लाई प्रोपागाण्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

'भूमिका'

सन् १९८७ मा जन्मेकी भनिएकी उनी दिवंगत नेता किम जङ-इलकी कान्छी छोरी र किम जङ-उनकी सहोदर बहिनी हुन्।

शक्तिशाली मानिएका पार्टी सचिव चोय रियोङ-हायका छोरासँग उनको बिहे भएको बताइएको छ।

हालैका वर्षहरूमा उनी छिटपुट रूपमा संचारमाध्यममा छाइरहेकी छिन्। उनको मुख्य भूमिका भनेको पार्टीको प्रोपोगान्डा विभाग सम्हालेर आफ्ना दाजुको छविको रक्षा गर्ने हो।

उत्तर कोरियामा भएका भनिएका मानव अधिकार उल्लंघनका घटनाहरुको सम्बन्धमा अमेरिकाले उनलाई कालो सूचीमा राखिरहेको छ।

उनलाई ओलिम्पिक्स्‌मा पठाएर किम जङ-अनले दक्षिण कोरियासँग सम्बन्ध सुधारमा गम्भीर रहेको संकेत दिएको ठानिएको छ।

चुनौती

तर अझ पनि उनको दक्षिण कोरिया भ्रमणलाई लिएर थुप्रै चुनौती छन्।

हुन त संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को यात्रा प्रतिबन्धको सूचीमा उनको नाम छैन। तर मानव अधिकारको विषयलाई लिएर उनीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ।

साथै उनी खेलकुदस्थलमा कसरी पुग्नेछिन् भन्नेबारे पनि प्रश्नहरू रहेका छन्।

उत्तर कोरियाली खेलाडीहरूलाई सहभागी हुन दिन समेत सोलले अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायका अन्य सदस्यहरुसँग विशेष अनुमति लिनु परेको थियो।

अब किम जङ-अनकै परिवारका सदस्यको यात्राको लागि सोलले फेरि अनुमति लिनुपर्ने हुनसक्छ।