‘वृद्धभत्ता र भूकम्पपीडितबारेको निर्णयले अर्थतन्त्र संकटमा’

Published

एमाले अध्यक्ष केपी ओलीले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी पछिल्ला निर्णय 'देश कंगाल बनाउने कदम' भनि टिप्पणी गरेका छन्।

बुधवार मन्त्रिपरिषद्ले वृद्ध भत्ता पाउने न्यूनतम उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्पपीडितको घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयप्रति आक्रोश पोख्दै एमाले अध्यक्ष केपी ओलीले बिहीवार राजधानीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, "कुनै उत्तरदायित्वका साथ लोककल्याणकारी राज्यको सिद्धान्त अनुसार सरकारले कदम चालेको होइन, यो त देशलाई बोझ बोकाउने र अर्थतन्त्र झन् अप्ठ्यारोमा पार्न ल्याइएको हो।"

उनले सरकारका पछिल्ला निर्णयहरुलाई गैरकानूनी र देशको हीतविपरीत रहेको भन्दै आफूहरुको नेतृत्वमा बन्ने नयाँ सरकारले ती निर्णयमाथि पुनर्विचार गर्ने बताए।

उनले प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी बढाउनेदेखि पूर्व डीआइजी नवराज सिलवाललाई पक्राउ गर्न चालिएको कदमबारे पनि टिप्पणी गरे।

उनले भने, "अनेक अपराधी फरार छन तर कानमा तेल हालेर सरकार बसिरहेको छ। सिलवालजी (नवराज सिलवाल) लाई पक्रन प्रहरीको ठूलो हुल पठाउने?"

सिलवालसँग जोडिएको प्रकरणमा नयाँ सरकारले 'यथार्थ' छानविन गर्ने उनको भनाइ थियो।