राजकुमार ह्यारीको मार्कलसंग बिहे पक्का

मार्कल र ह्यारी

तस्बिर स्रोत, Reuters

Published

राजकुमार ह्यारीले नायिका रहेकी उनकी अमेरिकी महिला मित्र मेगन मार्कलसँग विवाह पक्का भएको क्लारेन्स हाउसले घोषणा गरेको छ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र बिहे पश्चात् उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्।

३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिना देखि प्रेम सम्बन्धमा थिए।

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलका बाबुआमाको आशीर्वाद पनि पाएको बताए।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कल गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका थिए।

चर्चित

अमेरिकी टेलिभिजन श्रृखंला 'सुट्स' मा उनले खेलेको भूमिकाका कारण मार्कल चर्चित छिन्।

उनी परोपकारी कार्यमा पनि संलग्न रहेकी छन्।

सामाजिक संजालको वेबसाईट ट्वीटरमा छोराको बिहेको खबरले आफूलाई उत्साहित बनाएको ह्यारीका पिताले बताएका छन्।

बिहे पक्का भएको बारे शुरुवातमा महारानी एलिजाबेथ र राजपरिवारका निकट सदस्यहरुलाई मात्र थाहा भएको राजकुमार चार्ल्सले बताए।

क्लारेन्स हाउसले जारी गरेको घोषणामा बिहेको दिन बारे "उचित समय" मा जानकारी गराइने बताइएको छ।

बीबीसीका सम्वाददाता जनी डाइमण्ड भन्छन, विभिन्न कारणले गर्दा यो सम्बन्ध परम्पराभन्दा भिन्न छ।

"उनी एक नायिका, एक अमेरिकी अनि एक सम्बन्ध विच्छेद भइसकेकी महिला हुन्। अब उनी ब्रिटिश राजपरिवारको यो गज्जबको संस्थामा जोडिंदैछिन्," डाइमण्डले भने।