फेरि मै प्रधानमन्त्री: देउवा, पौडेल पनि आकांक्षी

नेताद्वय

तस्बिर स्रोत, PM Secretariat

Published

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको बहुमत आएमा आफू नै प्रधानमन्त्री बन्ने बताएका छन्।

देउवाले त्यस्तो धारणा सार्वजनिक गरेकै दिन कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले 'देश विकासको आफ्नो योजना कार्यान्वयन गर्ने अवसर पाउनुपर्ने' भन्दै आफूलाई प्रधानमन्त्रीको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन्।

कांग्रेसले औपचारिक रुपमा भावी प्रधानमन्त्रीको रुपमा कसैलाई अघि सारेको छैन।

भविष्यवाणी

आफू सात पटक प्रधानमन्त्री हुने कुरा ज्योतिषीले बताएको सुनाउँदै देउवाले भने, "कांग्रेसले जित्यो भने म फेरि प्रधानमन्त्री बन्छु। सुदूरपश्चिममा कुनै पार्टीबाट प्रधानमन्त्री बन्नेवाला छैन। प्रधानमन्त्री बन्ने त मै हुँ नि।"

'प्रधानमन्त्रीको रुपमा देउवाको यो अन्तिम कार्यकाल' भनी नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको टिप्पणीबारे धनगढीमा पत्रकारसामू राखेको उक्त धारणा देउवाले गृहजिल्ला डडेलधुराको चुनावी सभामा पनि दोहर्याएका थिए।

प्रतिष्पर्धी उम्मेदवारतर्फ संकेत गर्दै उनले भने, "अरुले जिते मुस्किलले माननीय होलान्, मैले जिते प्रधानमन्त्री भइरहने छु।"

तर देउवालाई कांग्रेसभित्रैबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनौती दिने ठानिन्छ।

देउवा

तस्बिर स्रोत, PM Secretariat

तनहुँमा चुनावी प्रचारको व्यस्तताबीच बीबीसीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने, "साथीहरु, रामचन्द्रलाई अघि सारे पार्टीलाई फाइदा हुन्छ भन्दै हुनुहुन्छ, त्यो पार्टी सभापतिले विचार गर्ने कुरा हो।"

अवसरको प्रतीक्षा

आफूले आफैलाई प्रधानमन्त्रीको रुपमा अघि नसारेको पौडेलको भनाई छ।

तर 'सबै नेता र तिनका कार्यशैली देखेको' बताउने नेता पौडेलले 'देश उन्नतिको निम्ति आफ्ना केही योजना र दृष्टिकोण रहेको' उल्लेख गर्ने क्रममा आफ्नो अपेक्षा लुकाएनन्।

उनले भने, "मेरा अवधारणाहरु कार्यान्वयन गर्ने गरी कुनै किसिमको अधिकारसम्पन्न अवसर मैले पाउनु पर्छ भन्ने मेरो भनाइ हो।"

पौडेल

तस्बिर स्रोत, facebook/rcp

कांग्रेस महामन्त्री शशांक कोइरालाले हालसालै बीबीसीलाई दिएको अन्तर्वार्तामा नेता पौडेललाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए।

आन्तरिक सन्तुलन मिलाउन नसकेको जस्तो देखिने कांग्रेसको निम्ति अर्कोतर्फ प्रमुख चुनौतीको रुपमा वामपन्थी गठबन्धन खडा भएको छ।

बहुमत ल्याउने दाबी गरिरहेको उसले पनि आफ्नो भावी प्रधानमन्त्री उम्मेदवारबारे निर्णय सार्वजनिक गरेको छैन।