ताज महल 'भारतीय संस्कृतिमा दाग'?

Published

भारतमा सत्ताधारी पार्टीका एकजना विवादास्पद राजनीतिज्ञले विश्वप्रसिद्ध स्मारक ताज महललाई 'भारतीय संस्कृतिमाथिको एक दाग' भनेका छन्।

भारतीय जनता पार्टीका एकजना विधायेक संगीत सोमले ताज महल 'गद्दारहरुले बनाएका' भन्ने अभिव्यक्ति दिएका छन्।

उत्तर प्रदेश राज्यका ति सांसद सोमले मेरठ शहरमा आफ्ना समर्थकहरुका एक भेलालाई सम्बोधन गर्दै त्यस्तो टिप्पण गरेका हुन्।

उत्तर प्रदेश राज्यले पर्यटन प्रवर्धन गर्न हालै प्रकाशन गरेको प्रचार सामाग्रीमा ताज महलको उल्लेख नै नगरेको घटनाको केही हप्तापछि यो पछिल्लो विवाद देखिएको छ।

'आक्रोश'

उत्तर प्रदेशका विधायक संगीत सोमको टिप्पणीप्रति सामाजिक संजालका वेबसाइटहरुमा आक्रोश र स्तब्धतापूर्ण अभिव्यक्तिहरु भैरहेका छन्।

ट्वीटरमा सोमबार ताज महल शब्द सर्वाधिक चर्चित रहेको थियो।

विधायक संगीत सोमले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भनेका थिए, "जो व्यक्तिले आफ्ना बाबुलाई थुनामा राखेका थिए के त्यो भारतीय इतिहास हो?"

उनको अर्को प्रश्न थियो, "ताज महल बनाउनेले उत्तर प्रदेश र हिन्दूस्थानमा थुप्रै हिन्दूहरुलाई निशाना बनाए के त्यसलाई इतिहास मान्न सकिन्छ?"

उनले भने, "यदि त्यो इतिहास हो भने त्यो दुर्भाग्यपूर्ण छ र हामी त्यो इतिहासलाई परिवर्तन गर्नेछौं।"

तर सन् १६४३ मा आफ्नी प्यारी श्रीमतिको स्मृतिमा ताज महल निर्माण गर्न लगाउने मुस्लिम मुगल बादशाह शाहजहांले आफ्ना बाबुलाई थुनामा राखेका थिएनन्।

बरु उनलाई नै उनका छोरा औरंगजेबले मृत्युपर्यन्त थुनामा राखेका थिए।

विवादास्पद

विधायक संगीत सोम विवादास्पद अभिव्यक्तिका लागि परिचित छन्।

उनलाई सन् २०१३ मा ६२ जनाको ज्यान जानेगरी मुजफ्फरनगरमा भएको हिन्दू-मुस्लिम दंगाकाबेला साम्प्रदायिक तनाव भड्काएको अभियोग लगाइएको थियो।

बीजेपीका एकजना प्रवक्ता नलिन कोहलीले विधायक सोमको टिप्पणीहरुबाट पार्टीलाई टाढै राख्‍ने प्रयास गरेका छन्।

तर उनले ति टिप्पणीहरुको निन्दा भने गरेनन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथले गत जुन महिनामा बोल्दै ताज महलले भारतीय संस्कृतिलाई प्रतिबिम्बित नगर्ने भनी टिप्पणी गरेका थिए।