‘रखाइनमा हिन्दुहरुको सामूहिक चिहान’

रोहिंज्या

तस्बिर स्रोत, AFP/getty

Published

म्यानमारको सेनाले सामूहिक चिहानमा २० महिला, आठ पुरुष तथा बालकको शव फेला पारेपछि उनीहरुको हत्याका लागि रोहिंज्या मुसलमान विद्रोहीहरुलाई दोष लगाएको छ।

उसले ती २८ जनाको शव उत्तरी रखाइन प्रान्तमा दुई वटा खाल्डोमा भेटेको बताएको छ।

उक्त प्रान्त गत अगष्ट २५ देखिनै द्वन्द्वग्रस्त छ जब त्यहाँ रोहिंज्या विद्रोहीहरुले प्रहरी चौकीहरुमाथि घातक हमला गरे।

उक्त समयदेखि हालसम्म चार लाखभन्दा धेरै रोहिंज्या शरण खोज्दै छिमेकी बांग्लादेशमा पुगेका छन्।

सफाया

संयुक्त राष्ट्रसंघले यी घटनालाई जातीय सफाया भनेको छ।

रखाइनमा चर्किएको हिंसाका माझ त्यहाँबाट हिन्दु तथा बौद्ध समुदायका मानिसहरुपनि घर छाडिभागेका थिए।

म्यानमारको सेनाले आफूले आराकान स्याल्भेसन रोहिंज्या आर्मी आर्सा नामक चौकी आक्रमण गरेको भनिएको विद्रोही समूहलाई मात्र निशानामा पारेको बताएको छ।

उसले त्यहाँ ज्यादती गरेका आरोपहरुको खण्डन गरेको छ।

सोमबार म्यानमार सरकारको सूचना समितिले फेसबुकमा तस्वीरसहित रखाइनको येबावक्या गाउँनजिक हिन्दुहरुको सामूहिक चिहान भेटेको जानकारी राखेको छ।

उसले एक नाम नखुलाइएका गाउँलेलाई उद्धृत गर्दै आर्साका ३ सय विद्रोहीले १ सय गाउँलेलाई अगष्ट २५ मा घेराबन्दीमा पारी धेरैको हत्या गरिदिएको उल्लेख गरेको छ।

ती विषयबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।

त्यहाँ अधिकारीहरुले पत्रकार तथा स्वतन्त्र पर्यवेक्षकहरुलाई रखाइन प्रान्तमा स्वतन्त्र घुमफिरमा सुरक्षाको कारण देखाउँदै रोकेको छ।

तर एकजना बीबीसी सम्वाददाताले रखाइनबाट भागेर बांग्लादेश आइपुगेका हिन्दु समुदायका मानिसहरुसँग कुरा गर्दा उनीहरुलाई आर्साले धम्काएको र आक्रमण गरेको बताएको उल्लेख गरे।