म्यानमारबाट किन भाग्दैछन् हिन्दू?

एक शरणार्थी

तस्बिर स्रोत, EMRUL KAMAL

Published

म्यानमारमा जारी हिंसाका कारण करिब पाँच सय रोहिंज्या हिन्दूले पनि घर छाड्न बाध्य छन्। जसमा ठूलो संख्या महिला र बालबालिकाको छ।

ती मध्ये अधिकांश मानिसले बांग्लादेशको कुटुप्लोङग शरणार्थी शिविर नजिक बनेको एउटा मन्दिरमा शरण लिएका छन्।

बौद्ध बहुल म्यानमारमा रोहिंज्या मुसलमानमाथि कयौं किसिमका प्रतिबन्ध लगाइएको छ।

त्यहाँ कयौं वर्षदेखि रोहिंज्या र बौद्धमार्गीबीच संघर्ष चलिरहेको छ।

बाध्यता

उक्त संघर्षका कारण दशौं हजार रोहिंज्या मुसलमान ज्यान जोगाउँदै भागेर बांग्लादेश पुगेका छन्।

कुटुप्लोङ्ग शरणार्थी शिविरमा शरण लिएर बसेका रोहिंज्या हिन्दूले आफूहरु घर छाडेर भाग्न बाध्य हुनुको कारण बीबीसीलाई बताएका छन्।

शरणार्थी हिन्दूले फकीराबजार नामक गाउँमा सबैभन्दा धेरै हिंसा भएको जानकारी दिए।

उक्त गाँउमा घर भएकी दर्बाहालाका अनुसार उनको घरमा आगो लगाउनुका साथै कयौंलाई मारिएको छ।

त्यसै कारण उनी घर छाडेर भाग्न बाध्य भइन्।

दुर्बाहालाका अनुसार उनको गाउँमा करिब चार सय हिन्दूको बसोबास थियो, ती सबैले गाउँ छाडिसकेका छन्।

नकाबधारी

आगलागी

तस्बिर स्रोत, BBC BURMESE

फकीराबजारभन्दा केही किलोमिटर टाढाको चिआंगछारीमा अर्की शरणार्थी बाकुबालाको घर छ।

उनकी छोरीको बिहे फकीराबजारमा भएको छ। बाकुबालाका पति छोरी भेट्न फकीराबजार गएका थिए, फर्किन पाएनन्।

बाकुबालाका अनुसार उनका पति, छोरी र नातिको हत्या गरिएको छ।

के बाकुबाला ती आक्रमणकारीलाई चिन्छिन? उनी भन्छिन्, "हामी भाग्नुअघि आएका सबै आक्रमणकारीले कालो कपडाले अनुहार घोपेका थिए। आँखा मात्रै देखिन्थ्यो। बर्मेली भाषा बोल्ने उनीहरु कहिले काँही बंगाली भाषा पनि बोल्थे। उनीहरुसँग धारिलो हतियार पनि थियो।"

रिक्ता गाउँ र चिआंगछारीका हिन्दू पनि घर छाडेर बांग्लादेश जान बाध्य भएका छन्।