शुक्रबारको हिंसापछि उत्तर भारतमा उच्च सतर्कता

Published

भारतमा शुक्रबार हरियाणा राज्यको पंचकुला नगरस्थित एक अदालतले १५ वर्ष पहिले दुई जना महिलालाई बलात्कार गरेको अभियोगका गुरमीत राम रहिम सिंहलाई दोषी ठहर गरेपछि फैलिएको हिंसामा ३० जनाको ज्यान गएको छ।

अझै हरियाणा, पञ्जाब तथा उत्तर भारतका धेरै भूभागमा उच्च सतर्कता अपनाइएको छ।

दिल्लीस्थित सम्वाददाता जस्टिन रोलाट भन्छन्, "सबै तप्काका राजनीतिक नेताहरुले हिंसाको भत्सर्ना गरेका छन् र शान्तिको अपिल गरेका छन्। तर अवस्था अझै तनावपूर्ण छ।"

दोषी पाइएका ती गुरुविरुद्ध सजाय सोमबार तोकिने छ।

कतिपय स्थानमा थप हिंसा हुन नदिन सेना परिचालन गरिएको छ।

आलोचना

शुक्रबार उत्पन्न हिंसा नियन्त्रण गर्न विफल भएको भन्दै हरियाणा तथा पञ्जाबको उच्च अदालतले संघीय तथा राज्य अधिकारीहरुको कडा आलोचना गरेको छ।

हरियाणाको पंचकुला नगरस्थित अदालतले उक्त फैसला गरेपछि निकै चर्चित सो धर्मगुरुका अनुयायीहरु खासगरी पञ्जाब र हरियाणामा तोडफोड र हिंसामा उत्रिएका थिए।

ती हिंसात्मक घटना भएकोमा उच्च अदालतले सरकारको प्रतिक्रिया राजनीतिक आत्मसमर्पण सरह भएको बताएको छ।

पंचकुला नगर तथा ती धर्मगुरुको मुख्यालय रहेको सीर्सामा अझै स्थिति तनावपूर्ण छ।