शार्क बोकेको चिनियाँ डुङ्गा नियन्त्रणमा

शार्क

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इक्वेडरका अधिकारीहरुले चिनियाँ माछा मार्ने डुङ्गाको यो तस्बिर सार्वजनिक गरेका छन्
Published

इक्वेडरको गलापागोस टापुको संरक्षित क्षेत्रबाट चिनियाँहरुले लोपोन्मुख शार्क माछा मारेको आशंका गरिएको छ।

शनिबार भेटिएको फु युआन यु लेङ ९९९ डुङ्गामा तीन सय टन माछा थियो।

त्यसमध्ये धेरैजसो शार्क थियो जसमा शार्कको संरक्षित प्रजाति ह्यामरहेड्स पनि थियो।

डुङ्गामा रहेका करिब बीस जना सबैले संरक्षित प्रजाति समातेर बेच बिखन गरेकोमा तीन वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ।

सम्पदा क्षेत्र

जैविक विविधतामा धनी गलापागोस टापु समुह युनेस्कोको सम्पदा क्षेत्र हो।

समाचार संस्था एफपीका अनुसार इक्वेडरका वातावरण मन्त्री टारसिसियो ग्र्यानिसोले मंगलबार भने- सान क्रिष्टोबलका न्यायाधीशले डुङ्गाका सदस्यहरुलाई अदालतको प्रक्रिया पुरा नभएसम्म थुनामा राख्न आदेश दिएका छन्।

इक्वेडर

गलापागोस नेशनल पार्कका निर्देशक वाल्टर बुस्टोसले इक्वेडरको अखबार एल युनिभर्सोलाई भने अनुसार उक्त डुङ्गा संरक्षित समुन्द्री संरक्षित क्षेत्रमा अहिलेसम्म पक्राउ गरिएको मध्ये सबभन्दा ठूलो हो।

सन २०१५ मा इक्वेडरको प्रहरीले २ लाख शार्कका पँखेटा एशियामा निर्यात गर्न लागिएका बेला नियन्त्रणमा लिएको थियो।

शार्कका पँखेटा चिनियाँ पकवान्नमा असाध्यै महत्वपूर्ण मानिन्छ।

विशेष भोज अर्थात ब्यांकेटहरुमा सार्कका पँखेटाको सुप खुवाइन्छ।

पँखेटाको सुपको मागले लोपोन्मुख प्रजाति निमिट्यान्न पार्न लागेको र अबैधानिक बेच बिखन बढाएको आलोचकहरु बताउँछन्।