कतार संकट थप बल्झिन सक्ने संकेत

Published

कतारविरुद्ध उभिएका चारवटा अरब मुलुकले आफूहरुद्वारा अघि सारिएका सबै माग दोहाले पूरा गर्नुपर्ने बताएका छन्।

उनीहरुले आतंकवादविरुद्ध लड्ने दिशामा हालै अगाडि सारिएका ६ वटा सिद्धान्तका साथै त्यसअघिका १३ बुँदे माग पनि पूरा हुनुपर्ने बताएका हुन्।

एउटा पत्रकार सम्मेलनमा साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहराइन र इजिप्टका विदेशमन्त्रीहरुले कतारसँग संवादका निम्ति आफूहरु तयार रहेको बताए।

यद्यपि आफूहरुद्वारा अघि सारिएका मागहरुमा कुनै मोलतोल गर्न नपाइने उनीहरुको भनाई छ।

अस्वीकार

ती मुलुकहरुको पछिल्लो अडान ११ दिनअघि सार्वजनिक भनाईसँग मेल खांदैन।

११ दिनअघि न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जारी समस्या समाधानका लागि कतारले १३ बुँदेको सट्टा ६ वटा सिद्धान्तलाई मान्नुपर्ने बताएका थिए।

आतंकवादी समूहहरुलाई सघाएको चार मुलुकको आरोप कतारले निरन्तर अस्वीकार गर्दै आएको छ।

कतारले आफ्नो सार्वभौमसत्तामा खतरा पैदा गर्ने वा अन्तर्राष्ट्रिय कानून उल्लंघन हुने कुनै पनि माग पूरा गर्न नसकिने अडान लिंदै आएको छ।

झण्डै ८ हप्ताअघि चारवटा मुलुकले कतारका जल, थल र आकाशमाथि लगाएका प्रतिबन्धका कारण त्यहाँ समस्या निम्तिएको छ।

कतारका आधारभूत आवश्यकताहरु आयातबाट पूरा हुन्छन्।