उप-निर्वाचन: माओवादी, रास्वपा र समाजवादीलाई कति बिझ्यो?

मतदाता
Published

सत्ताधारी नेकपा एमाले यस अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जितेको बझाङको प्रदेश सभा सदस्यको एक सीट खोस्न सफल भएको छ।

निकै प्रतिस्पर्धात्मक देखिएको बझाङ-१ (१) को मत गणना सोमवार दिउसो सम्पन्न हुँदा एमाले उम्मेदवारले कांग्रेसलाई परास्त गरेका हुन्।

प्रतिनिधिसभाको निम्ति अर्को उपचुनाव भएको इलाम-२ मा पनि एमालेका उम्मेदवार अगाडि छन्। यसअघि त्यो एमालेकै सुवास नेम्वाङले जितेको क्षेत्र हो।

अघिल्लो चुनावमा नेकपा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिँदा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलबीच चुनावी गठबन्धन थियो।

फेरिएको गठबन्धनको असर कस्तो?

बझाङमा अघिल्लो चुनावमा कांग्रेसलाई साथ दिएका नेकपा माओवादी तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो स्थानमा रहे।

सत्ताधारी दलहरू नै अलग अलग लड्दा पनि त्यसको लाभ नेपाली कांग्रेसले उठाउन सकेन।

इलाममा अघिल्लो चुनावमा कांग्रेस सहितको गठबन्धनसँग एक्लै लडेको एमालेले यस पटक माओवादी केन्द्रको साथ पाएको छ।

कोशी प्रदेशमा जातीय पहिचानको मुद्दा चर्किएकाले इलामको चुनावमा त्यसको असरप्रति चासो पाइन्थ्यो।

पहिचानको निम्ति भएका आन्दोलनका क्रममा एमालेका कतिपय नेताहरूलाई निशाना बनाइएकाले त्यहाँको चुनाव उसको निम्ति चुनौतीपूर्ण हुने ठानिएको थियो।

तर एमाले उम्मेदवार पाँच हजार मतले अगाडि रहँदा त्यहाँ कांग्रेस उम्मेदवार र एक जना पहिचान पक्षीय स्वतन्त्र उम्मेदवारको मत सोमवार अपराह्नसम्म झन्डै झन्डै हाराहारीमा छ।

समाजवादी भन्छ, “चुनावमा कसैले हार्छु भन्छ त?”

नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणमा भागबन्डाको माग गर्दै आएको छ।

उसले बझाङमा आफूलाई साथ दिनु पर्ने प्रस्ताव सत्ताधारी दलहरू समक्ष राखेको थियो।

उक्त दलका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाममा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका थिए।

माधव नेपाल

तस्बिर स्रोत, RSS

त्यो प्रसङ्ग निकाल्दा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल हाँस्दै भन्छन्, “चुनाव लड्दा कसैले हार्छु भन्छ त?”

इलाममा त उनको पार्टीका उम्मेदवारले पाँच सय भोट पनि पाएका छैनन्।

“यो कुनै विशेष कुरा होइन, यसले न सङ्घमा, न प्रदेशमा कतै असर पार्ने पनि होइन, यो उपचुनावलाई मैले त्यति ठूलो विषय मानेको छैन,” भुसालले भने।

जमानत नै जोगाउन नसक्दा पनि केही असर नगर्ने उनको भनाइ छ। तत्काल आम चुनाव हुने अवस्था भएको भए त्यसको केही प्रभाव पर्न सक्ने भन्दै भुसालले भने, “कहिले कतै जमानत जोगिन्न, चुनाव भन्ने, कहिले भोट आउँछ, कहिले आउँदैन।”

रास्वपाले पाएको सन्देश के?

इलाममा एमालेले र बझाङमा कांग्रेसले त्यहाँका पूर्व सांसदका छोराहरूलाई उम्मेदवार बनाउँदा त्यसलाई लिएर पनि चर्चा भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियार प्राप्त मतले विरासतको राजनीति र वंशवादको कुरा नेपाली राजनीतिमा अझै विद्यमान रहेको सन्देश दिएको बताउँछन्।

उनले भने, “यसले समाजको चरित्रमा त्यति धेरै रूपान्तरण भएको छैन भन्ने पनि देखाउँछ जस्तो लाग्छ।”

लामिछाने

तस्बिर स्रोत, MOHA

तनहुँमा जस्तै इलाममा पनि चुनाव जित्ने उक्त पार्टीका नेताहरूले दाबी गरे पनि रास्वपा त्यहाँ चौथो स्थानमा छ।

कतिपयले उक्त दलका सभापति तथा गृहमन्त्री रवि लामिछाने बारम्बार विवादमा तानिएकाले पनि उक्त दलप्रतिको आकर्षणमा धक्का पुगेको रूपमा हेरेका छन्।

तर उक्त कुरा अस्वीकार गर्दै नेता परियार भन्छन्, “सङ्गठन निर्माणको काम बाँकी रहेको प्रभाव यो निर्वाचनमा पर्‍यो, यसले हामीलाई विचारबाट प्रशिक्षित गरेर सङ्गठन निर्माणमा जोड दिनु पर्छ भन्ने सन्देश दिएको छ।”

आफू निर्णायक रहेको माओवादीको बुझाइ

प्रचण्ड

तस्बिर स्रोत, RSS

सत्ताको खेलमा निर्णायक रहेर सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले दुई उपचुनावमा पनि आफू निर्णायक नै रहेको दाबी गरेको छ।

इलाममा उसले एमालेलाई साथ दिएको छ। बझाङमा सानो मतान्तरले एमालेले जितेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्छन्, “दुवै ठाउँमा माओवादी निर्णायक अवस्था रहेको त देखियो, माओवादीले जता साथ दिन्छ त्यतै जित्दो रहेछ भन्ने देखियो त।”

तर तत्कालको परिणामभन्दा पनि निर्वाचन प्रणालीमा सुधार नगरे राजनीतिक अस्थिरता रहने उनको तर्क छ।

तर तत्काल त्यसमा सुधार सम्भव नभएको बताउँदै उनले दलहरूबीच निषेधको राजनीति हुन नहुने धारणा व्यक्त गरे।

के चुनावले वामपन्थी सहकार्य र गठबन्धनको खाँचो थप औँल्याएको महसुस गराएको छ? “सकेसम्म आफ्नै पार्टीले बहुमत पाए राम्रो नभए वामपन्थी धारका दलहरू मिलेर बहुमत बनाउन सके हुन्थ्यो भन्ने आशा अपेक्षा त स्वयंसिद्ध तथ्य हो,” नेता गुरुङले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।