रुसद्वारा युक्रेनी सहर सोलेदारको 'धेरैजसो भाग नियन्त्रणमा', उक्त सहर किन महत्त्वपूर्ण छ?

युक्रेन

तस्बिर स्रोत, Reuters

Published

रुसले युक्रेनको पूर्वमा पर्ने नुन खानीको नगर सोलेदारमा युक्रेनी फौजसँग भएको महिनौँको भिडन्तपछि नियन्त्रण कायम गर्ने देखिएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।

सोलेदार, युक्रेनमा रक्तपातपूर्ण लडाइँ भएको सहर बख्मुत नजिकै पर्छ।

रुसी फौज र भाडाका सैनिक उपलब्ध गराउने वागनर समूहले पछिल्ला चार दिनमा अग्रता लिइरहेको यूकेले जनाएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदारमा ''लगभग जीवन नरहेको'' र ''कतै सिङ्गो भित्ता नबचेको'' बताएका छन्।

'विक्षिप्त अवस्था'

जेलेन्स्कीले त्यहाँ ''विक्षिप्तताको अवस्था'' देखा परेको बताए।

युद्धअघिको अवस्थामा झण्डै १० हजार जनसङ्ख्या रहेको सोलेदारलाई बख्मुत कब्जा गर्नका लागि आधारका रूपमा हेरिएको छ।

सोलेदार आफ्नैको रणनीतिक महत्त्वबारे प्रश्नहरू पाइन्छन्।

तर गत साता एकजना अमेरिकी अधिकारीले वाग्नर समूहका संस्थापक येभ्गेनी प्रिगोजिनले सोलेदार क्षेत्रको विशाल नुन र जिप्सममा नियन्त्रण राख्न खोजेको जनाएका थिए।

सुरुङमा चासो

यूकेले भने लडाइँको एउटा हिस्सा एक प्रयोगविहीन २०० किलोमिटर लामो सुरुङको द्वारहरूमा केन्द्रीत भएको जनाएको छ।

दुवै रुस र युक्रेनले उक्त सुरुङ युद्धका बेला प्रयोगमा ल्याउन सक्ने भन्दै त्यसलाई नियन्त्रणमा राख्न जोड दिएका छन्।

वाग्नर प्रमुखले ती सुरुङलाई भूमिगत सहरहरूको सञ्जाल भन्दै ८० देखि १०० मिटरको त्यसको गहिराइमा मानिसहरूको ठूलो समूह रहन सक्ने बताएका छन्।

त्यसभित्र ट्याङ्क र अन्य सैन्य गाडीहरू सहजै चल्न सक्ने उनले बताए।