दशैँको टीका नेपालमा भन्दा अमेरिकामा किन अगाडि, साइतको महत्त्व कस्तो
- Author, गनी अन्सारी र कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
- Published
यसपालि बडादशैँको टीकाको साइत नेपाल र अमेरिका अनि क्यानडामा अगाडि-पछाडि परेको देखिएपछि त्यस विषयमा ज्योतिषीहरूबीच नै दुई मत देखिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आफ्नो निर्णयको बचाउ गरेको छ भने केही सिद्धान्त ज्योतिषीले त्यसमाथि प्रश्न उठाएका छन्।
समितिले निर्धारण गरेअनुसार अमेरिका र क्यानडामा नेपालमा भन्दा एक दिन पहिला दशैँको टीकाको साइत परेको छ।
समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिखमा दशैँको टीकाको साइत छ भने नेपाल लगायतका मुलुकमा २४ तारिखमा निर्धारण गरिएको छ।

तस्बिर स्रोत, Getty Images
के भन्छन् खगोलविद् तथा सिद्धान्तज्योतिषी?
नेपालमा भन्दा अमेरिका र क्यानडामा एक दिन पहिला नै दशैँको टीकाको साइत निर्धारण गरिनुलाई खगोलविद् तथा सिद्धान्तज्योतिषका प्राध्यापक जयन्त आचार्य अस्वाभाविक मान्छन्।
“घटस्थापनाको अघिल्लो दिन औँसीमा अमेरिकामा भएको सूर्यग्रहण नेपालबाट देखिएन,” उदाहरण प्रस्तुत गर्दै बीबीसी न्यूज नेपालीसँग उनले भने।
“यता नेपालमा औँसी श्राद्ध सकेपछि मात्र ग्रहण लाग्यो। औँसीको तिथिमा सूर्य ग्रहण हुने हो। [अमेरिका तथा क्यानडातिर] तिथि पछाडि नै आउने कुरा सामान्य हिसाबले देखायो।”
नेपालमा टीका ग्रहण गरिसकेपछि त्यसको केहीपछि अमेरिका र क्यानडामा टीका लगाउनुपर्छ भनेर आफूले आफन्तहरूलाई भन्ने गरेको प्राध्यापक आचार्य बताउँछन्।
“गणना नगरीकनै उहाँहरूले अनुमानको भरमा भने जस्तो लाग्यो। उहाँहरूले गरेको गणना नै बिग्रेको छ। उहाँहरूका अनुसार त्यहाँ पूर्णिमा पनि पहिल्यै हुने भयो,” उनले थपे।

तस्बिर स्रोत, REUTERS
पञ्चाङ्ग निर्णायक विकास समिति के भन्छ?
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल चाहिँ आफूहरूले निर्धारण गरेको दशैँको टीकाको साइत शास्त्रीय हिसाबले गणित हेरेर मिलाइएको बताउँछन्। अमेरिकामा भन्दा नेपालमा तिथि ढिलो आउँछ भन्ने गलत बुझाइ मानिसहरूमा रहेकोले यो अवस्था देखिएको उनको तर्क छ।
“सूर्य र चन्द्रमाले तिथि बनाउँछन्। सूर्य र चन्द्रमा पश्चिमबाट पूर्वतर्फ गइरहेका हुन्छन्,” ढुङ्गेलले बीबीसी न्यूज नेपालीसँग भने।
“हामी पृथ्वीमा रहेकाहरू पनि पश्चिमबाट पूर्व गइरहेका हुन्छौँ। तर तीनवटा चिजको गति फरक भयो।”
“हामीले देख्दा सूर्य र चन्द्रमा पूर्वबाट पश्चिम गएको देख्छौँ। तर वास्तवमा पश्चिमबाट पूर्व आइरहेका हुन्छन्,” उनले भने।
गणना नगरीकनै उहाँहरूले अनुमानको भरमा भने जस्तो लाग्यो। उहाँहरूले गरेको गणना नै बिग्रेको छ...
“सूर्य र चन्द्रमाले नेपालको भन्दा अमेरिकाको त्यो तिथि नक्षत्रको भोग पहिल्यै गरिसकेका हुन्छन्," ज्योतिषी ढुङ्गले भन्छन्।
“नेपालमा दशैँको टीकाको दशमी सुरु हुँदा त अमेरिकामा दशमी आधी बितिसकेको हुन्छ।”
सूर्य र चन्द्रमाले तिथि बनाउने तथा सूर्य र चन्द्रमा पश्चिमबाट पूर्व आउने भएकाले नेपालको भन्दा अमेरिकामा तिथि पछि नजाने ढुङ्गेलको तर्क छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केही समययता अमेरिका, अस्ट्रेलियाका लागि नेपाली परम्पराको पात्रो बनाउँदै आएको अधिकारीहरू बताउँछन्।
साइतको महत्त्व के हो
विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गर्दै मान्यजनले दुर्गाको प्रसाद स्वरूप टीका, जमरा लगाइदिने र आशीर्वाद दिने चलन छ।
तर त्यस्तो कार्य गर्दा साइत पनि उत्तीकै महत्वपूर्ण हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन्।
विभिन्न ज्योतिष विज्ञहरुसँगको परामर्श र छलफलपछि साइत निर्धारण गरिन्छ । विजया दशमीको दिन आफैमा शुभ दिन मानिन्छ। उक्त दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु भएको विज्ञ बताउँछन्।
उपयुक्त साइत जुराउँदा नौ वटा ग्रहहरु कति बलवान् स्थानमा छन् भन्ने कुरा मापन गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको भनाइ छ। तर त्यसरी जुराइएको समयमा नै टीका लगाइनु पर्छ भन्ने नभएको वाल्मिकी विद्यापीठमा सिद्धान्त ज्योतिष अध्यापन गर्ने प्राध्यापक जयन्त आचार्य बताउँछन् ।
हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतीको मुहुर्त फरक फरक समयमा हुने गरेको हुन्छ। नेपालमा शुभमुहुर्त भएको बेला ब्रिटेन, अमेरिका दुबई, कतार या अन्य देशहरुमा अर्कै प्रकृतिको मुहुर्त चलिरहेको हुन्छ। त्यसैले नेपाल र नेपाल पूर्वका देशमा दशैँको साइत अक्टोबर २४ (कार्तिक ७) मा निर्धारण भएपनि क्यानडा र अमेरिकामा भने त्यसको अघिल्लो दिन गरिएको हो।
पञ्चाङ्ग निर्णायक समितिले दिएको टीकाको साइत
काठमाण्डू नेपाल
७ कार्तिक २०८० ११:०२
लिस्बन, पोर्चुगल
२४ अक्टोबर २०२३, ११:२३
नयाँ दिल्ली, भारत
२४ अक्टोबर, २०२३ १०:५५
लण्डन, बेलायत
२४ अक्टोबर २०२३, ११:३१
न्यूयोर्क, अमेरिका
२३ अक्टोबर २०२३ १०:४७
पेरिस, फ्रान्स
२४ अक्टोबर २०२३ ११.२५
केन्टुकी, अमेरिका
२३ अक्टोबर २०२३, ११:३१
ओस्लो, नर्वे
२४ अक्टोबर २०२३, ११:३५
टेक्सस, अमेरिका
२३ अक्टोबर २०२३, ११:०३
क्वालालम्पुर, मलेसिया
२४ अक्टोबर २०२३, ११:१५
वासिङ्टन डिसी, अमेरिका
२३ अक्टोबर २०२३ १०:५३
अबुधावी, युएई
२४ अक्टोबर २०२३, ११:०५
क्यालिफोर्निया, अमेरिका
२३ अक्टोबर २०२३, १०:३१
दोहा, कतार
२४ अक्टोबर २०२३, ०९:५९
टोरन्टो, क्यानडा
२३ अक्टोबर २०२३, ११.१७
बैङ्कक, थाईल्यान्ड
२४ अक्टोबर २०२३, १०:३९
भ्यानकुभर, क्यानाडा
२३ अक्टोबर २०२३, ११:३५
सोल, दक्षिण कोरिया
२४ अक्टोबर २०२३, ११.३१
टोकियो, जापान
२४ अक्टोबर २०२३, १०:४५
तेल अभिभ, इजरेल
२४ अक्टोबर २०२३, ०९:२५
सिड्नी, अस्ट्रेलिया
२४ अक्टोबर २०२३, ११.१५
सिङ्गापुर
२४ अक्टोबर २०२३, ११:०५
मेलबर्न, अस्ट्रेलिया
२४ अक्टोबर २०२३, ११.३५
ब्रिसवेन, अस्ट्रेलिया
२४ अक्टोबर २०२३ १०:२५
क्यानवेरा अस्ट्रेलिया
२४ अक्टोबर २०२३, ११.२१
साउदी अरेबिया
२४ अक्टोबर २०२३, ०९.११
यङ्गुन म्यानमार
२४ अक्टोबर २०२३, १०.३१
सिङ्गापुर
२४ अक्टोबर २०२३, ११.०५
हङकङ
२४ अक्टोबर २०२३, १०.३१
तेल अभिभ, इजरेल
२४ अक्टोबर २०२३, ११.०१
वेलिङ्टन, न्यूजिल्याण्ड
२४ अक्टोबर २०२३ ११:२१
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















